[ad_1]
४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ मा पर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको निवास निर्मलनिवास पछाडि चुनदेवी मन्दिर छ ।
निर्मलनिवास र मन्दिर भएको स्थान काठमाडौंको उत्तरी भागको पानीढलो हो । मन्दिरदेखि उत्तरतर्फ लागेपछि चक्रपथ आउँछ । जुन केही समथरपछि थोरै ओरालो रहेको छ । तर मन्दिरबाट चण्डोलतर्फ भिरालो छ । त्यही ओरालोको सिमसार क्षेत्रमा चुनदेवी मन्दिरको एउटा कुवा छ ।
स्थानीय बासिन्दाले अहिले पनि नुहाउन, लुगा धुन प्रयोग गरिने पानी त्यही कुवाबाट लैजाने गर्दछन् । त्यो चुनदेवी मन्दिर परिसरमा रहेको कुवा नै काठमाडौंको ६ किलोमिटर लामो टुकुचा खोलाको मुख्य मुहान हो ।
काठमाडौं वडा नम्बर ४ का वडाअध्यक्ष दिनेश महर्जनका अनुसार मन्दिरमा रहेको कुवाबाट नै टुकुचाखोला बग्न सुरु भएको हो । ‘कुवाबाट दक्षिणतर्फको चुनदेवी बस्ती हो । यो बस्तीमा मुहानबाटै टुकुचा बगेको त देखिन्न यहींबाट रसाएर पानी बग्छ । त्यसले गर्दा यो क्षेत्र सधैं सिमसार नै देखिन्छ’ कुवा देखाउँदै अध्यक्ष महर्जनले भने, ‘यो बस्ती पहिले थिएन, भिरालो जमिनमा पानी रसाएर बग्थ्यो । पछि बस्ती विस्तार भएपछि यो क्षेत्रमा पानी निस्किन कम भएको छ तर निस्किनै छोडेको चाहिं छैन ।’
चुनदेवी बस्तीबाट गणेशबस्तीमा आइपुग्दा टुकुचा खोलाले सानो खोल्साको आकार लिएको देखिन्छ । गणेशबस्ती क्षेत्रमै टुकुचाको सहायक स्रोत रहेको स्थानीय अगुवा देवराज लामाको दाबी छ ।
‘गणेशबस्तीमा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको घर रहेको छ । उहाँकै घर छेउछाउ कुनै समय सिमसार क्षेत्र हो । पहिले पहिले यहाँ धान खेती गरिन्थ्यो । खेतमा रोपाइँ गर्ने पानी अन्तबाट ल्याउनै पर्दैनथ्यो । अहिले त पूरै बस्ती भइसकेको छ’ लामा थप्छन्, ‘यहाँबाट वर्षामा पानीको मूल फुट्ने गर्थ्यो हिउँदमा रसाएको पानीले हिंड्नै नसक्ने हिलो हुन्थ्यो । यहाँ निस्केको पानी र चुनदेवी मन्दिरको कुवाबाट आएको पानी पञ्चकन्या बस्तीमा मिलेपछि खोल्सा बनेको छ । त्यही खोल्सा तल गएर पानी बढ्दै गएपछि इच्छुमती हुन्छ ।’
गणेशबस्ती र चुनदेवीबस्तीबाट निस्केको पानीले टुकुचाको मुहानको रुपमा खोल्सा बनाउँछ जुन चण्डोलतर्फ बग्छ । ४ नम्बर वडाकै पञ्चकन्या बस्तीमा नै टुकुचालाई करिब २० वर्ष अगाडि कंक्रिट ढलले छोपेको देखिन्छ । ‘त्यो बेलामा यो टुकुचाको पानी अहिलेको भन्दा धेरै थियो । बस्ती विस्तार हुँदै जाँदा टुकुचाले बर्खामा दुख दिन थालेपछि ढलभित्र हालेको देखिन्छ । पञ्चकन्याको धापमा रहेको खेतलाई दायाँबायाँ राखेर टुकुचा बग्दा खेतीमा असर गरेको भन्दै सो क्षेत्रमा ढल लगाइएको रहेछ’ वडाअध्यक्ष महर्जन भन्छन् ।
टुकुचाको पञ्चकन्या पछि विशालनगरदेखि टुँडालदेवी मन्दिरबाट गैह्रीधारा हुँदै २ नम्बर वडातर्फ छिरेको छ । करिब ४० वर्ष अगाडि टुँडालदेवी मन्दिर छेउमा ४ नम्बर वडाअध्यक्ष महर्जन आफैंले नुहाउने, लुगा धुने गरेको बताउँछन् । ‘हामी ३५–४० वर्ष अगाडि टुँडालदेवी मन्दिर छेउमा नुहाउँथ्यौं । म आफैं नुहाएको छु । त्यो बेला अहिले जस्तो बस्ती थिएन । सबैतिरबाट पानी रसाएर जम्मा हुन्थ्यो । अहिले त ढल नहाले नबग्ने जस्तो भइसक्यो ।’
त्यसपछि टुकुचा काठमाडौं महानगरपालिका-२ गैह्रीधारामा छिर्छ । घनाबस्ती भएको क्षेत्रमा टुकुचा च्यापिएर निस्केको छ । २ नम्बरका वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठका अनुसार वडाभरि ६२५ मिटर लामो क्षेत्रफलमा टुकुचा बग्छ ।
‘२ नम्बर वडामा गैह्रीधाराबाट सोकुना मार्ग हुँदै निर सरस्वती मन्दिरबाट खोलागल हुँदै नारायणहिटीको उत्तरढोका हुँदै दरबारभित्र पस्छ । दरबारसम्म खुल्ला भएको टुकुचा १ नम्बर वडाको जयनेपाल हलबाट भूमिगत भएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने ।
टुकुचामा सबैभन्दा धेरै ढल मिसिने काठमाडौं वडा नम्बर २ नै रहेको वडाध्यक्ष श्रेष्ठको दाबी छ, ‘हामीले निर सरस्वती मन्दिरमा पहिले पहिले माछा मारेकै याद मलाई छ । तर यहाँ पछि यति ढल मिसाउन थाले कि खोला भन्दा धेरै ढल जस्तो देखिएको छ ।’
वडाध्यक्ष श्रेष्ठले निर सरस्वती स्थानमा प्रत्येक वर्षामा करिब डेढसय घर प्रभावित हुने गरेको बताए । ‘प्रधानमन्त्री निवास रहेको बालुवाटार क्षेत्रको ढल टुकुचामा ल्याएर झारेको छ । त्यो कुनै समयको राजकुलो हो अहिले ढलमा परिणत भएको छ,’ श्रेष्ठले भने । उनले राजकुलो पनि अतिक्रमण भएकोले अब खोल्ने तयारी गरेको बताए ।
निर सरस्वतीमा अर्को ढल पनि मिसिन्छ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सडक विस्तार गर्नेक्रममा सामाखुशी तर्फ जानुपर्ने महाराजगञ्जको ढल यता डाईभर्सन गरेर निर सरस्वती मन्दिरछेउमा झारिएको छ ।
माथिबाट आएको टुकुचा खोलामा बालुवाटार र महाराजगञ्जको ढल मिसिंदा यो क्षेत्रमा बस्नै नसक्ने स्थिति रहेको छ । यहाँ १५ मिनेट पानी पर्यो भने टुकुचा ओर्लेर निर सरस्वतीमा जाम हुन्छ । पूरै क्षेत्र जलमग्न हुन्छ ।
निर सरस्वतीबाट दक्षिणतर्फ झरेको टुकुचा खोलागल हुँदै दरबारको उत्तरीगेट तर्फ छिर्छ ।
तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर
[ad_2]
Source link